त्रियुगा न्यूज
गाईघाट, ८ वैशाख । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ७ बेल्टार बजार स्थित रबिन कुमार दास र पदम खड्काको घरमा अचानक आगलागी हुदाँ २ जनाको मृत्यु हुनुका साथै ६३ लाख बराबरको धनमाल डडेर खरानी भएको छ ।
मङ्गलवार विहान करिव २ वजे स्थानीय पदम खड्काको घरमा अचानक आगलागी हुदाँ निजको बुवा बर्ष ७० को लक्ष्मी नारायण खड्का र निज मृतककै नाती बर्ष ३० का पवन खड्काको घरधित्रै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त आगलागीबाट रबिन कुमार दासको काठको घर र किराना पसलको समेत जलेर करिब २० लाख, पदम खड्काको घर तथा २ वटा खसी समेत गरी करिव ३१ लाख, पदम खड्काको घरमा रहेको मित्र थापामगरको स्टेशनरी पसलको करिब छ लाख,होम बहादुर परियारको ट्रेलरको करिब २० हजार तथा मैया पौडेलको चटपटे पसल र अन्य सामानहरु गरी करिव चारलाख बराबरको क्षति भएको छ ।
उक्त घटना सम्बन्धमा जानकारी हुन साथ प्रहरी नायव उपरीक्षक निरन्जन थापाको कमाण्डमा प्रहरी टोली खटि गई सुरक्षाकर्मी, दमकल र स्थानीयको सहयोगमा बिहान ६ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिइएको साथै मृतक लक्ष्मी नारायण खड्का र पवन खड्काको लास नगर अस्पताल बेल्टारको सव गृहमा पोष्टमार्टमका लागि राखि घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार विद्युत् सर्टभई विहान करिव २ वजे सो आगलागी भएको थियो ।
आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा मधेश प्रदेशअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल ल्याइनुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सक्रिय सहयोगमा करिब तीन घण्टापछि विहान ६ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।