भक्तिविलास पोखरेल । गाईघाट
गाईघाट १३ माघ । आम नागरिकहरुको स्वास्थ्य उपचार सम्बन्धि सेवा प्रवाहमा जिल्ला अस्पताल उदयपुर उत्कृष्ट भएको छ । हालै सम्पन्न न्यूनतम सेवा मापदण्डको लेखाजोखा कार्यक्रममा ९० प्रतिशत अंक हासिल गर्दै यो अस्पतालले आफ्नो उत्कृष्ट प्रदर्शन दोहो¥याएको हो । यो अस्पतालले यसअघि प्राप्त गरेको अङ्क भन्दा यस वर्ष ३ प्रतिशतले वृद्धि भएको छ ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले गरेको मूल्यांकनमा अस्पतालमा हुने सेवा प्रवाह, विभिन्न विभागको कार्य सम्पादन लगायतका पक्षहरूको आधारमा अङ्क प्रदान गरिएको थियो । जिल्ला अस्पताल उदयपुरका सूचना अधिकारी सुरेश पाण्डेका अनुसार अस्पतालले यसअघि ८६ प्रतिशत अङक प्राप्त गरेकोमा यो वर्ष ८९ प्रतिशत प्राप्त गरेको छ ।
अस्पताल तथा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड कायम गर्ने सम्बन्धी २०७७ को कार्य अवधि अनुसार यस्तो मूल्यांकन प्रत्येक वर्ष गरिन्छ । जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेन्डेन्ट डा.बिरेन्द्र मण्डलले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस्ता मापदण्डहरूको पालना अनिवार्य रहेको बताउनुभयो ।
जिल्ला अस्पताल उदयपुरले प्राप्त गरेको उच्च अङ्कले अस्पतालले सेवा प्रवाहमा गरेको सुधारलाई पुष्टि गरेको छ । यसले अस्पताल प्रशासन,चिकित्सक,कर्मचारी तथा सम्पूर्ण सरोकारवालालाई थप प्रेरणा मिलेको कर्मचारीहरु बताउछन ।
प्रदेश तहमा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न र प्रदेश मातहतका अस्पतालहरूको व्यवस्थापन सुदृढीकरणका लागि प्रत्येक प्रदेशमा प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशकको संयोजकत्वमा रहेको समितिले यस्तो मूल्यांकन गर्ने गर्दछ ।
जिल्ला अस्पताल उदयपुरले गरेको कामको न्यूनतम सेवा मापदण्डको लेखाजोखा कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेकोमा अस्पतालका पाँच जना कर्मचारीलाई सम्मान गरेको छ । अस्पतालले बिरामी सेवामा पु¥याएको योगदानको कदर गर्दै एनेस्थेसिया अधिकृत अजेन्द्रप्रसाद यादव, स्टाफ नर्स निर्मला कुमारी पाण्डे, हेल्थ असिस्टेन्ट सुदिप कार्की, फार्मेसी सहायक सनम राई र फिजियोथेरापिस्ट प्रदिप यादवलाई सम्मान गरेको हो ।
सम्मानीत हुने कर्मचारीहरूले आफ्नो दक्षता र मेहनतले अस्पतालको सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको अस्पताल मेसु डा.बिरेन्द्र मण्डलले बताउनुभयो । उहाँले ती कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै भन्नुभयो “उहाँहरुले अस्पतालको गौरव बढाउनु भएको र उहाँहरूको मेहनत र समर्पणले गर्दा नै हामीले बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न सकेका छौँ ।”