भक्तिविलास पोखरेल
गाईघाट,१०फागुने । बर्तमान सत्ता गठबन्धनको जिल्लास्थित कांग्रेस एमाले संयुक्त संयन्त्रको बैठक बसि उदयपुर जिल्लाका विभिन्न महत्वपूर्ण योजनाहरु कार्यान्यनका लागि सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
नेकपा एमाले जिल्ला पार्टी कार्यालय गाईघाटमा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य समेतरहनु भएका पार्टी जिल्ला इन्चार्ज मन्जु चौधरीको अध्यक्षतामा शुक्रवार बसेको बैठकले ७ वटा महत्वपूर्ण प्रस्तावहरूमा छलफल गरि निर्णय पारित गरेको नेपाली कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीले बताउनुभयो ।
जिल्ला स्थित संयन्त्रको बैठकले गत आर्थिक बर्षमा उदयपुर जिल्लामा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने भनेको भएपनि अहिलेसम्म कुनै कदम अगाडी नबढेको भन्दै उक्त प्रक्रिया अघि बढाउन बिज्ञ टोलि पठाउनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको छ ।
सभापति कार्कीका अनुसार उदयपुर सिमेन्ट उद्योगमा ब्यबस्थापन र आर्थिक समस्याले एकबर्ष देखी कर्मचारी, मजदुरहरु समेत तलव बिहीन रहनु परेको र उद्योग संकटमा पर्न लागेकोले तत्काल नेपाल सरकार संग आर्थिक श्रोतको ब्यबस्थापन गरी अबिलम्ब अध्यक्ष र महाप्रवन्धक नियुक्तिका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यसैगरीे जिल्ला भित्र साविक जिल्ला पञ्चायतले वितरण गरेका बजार क्षेत्रका कतिपय घडेरी ब्यक्तिविशेषले लिएर आफ्नो नाममा दर्ता गर्न छुटेको हुँदा उक्त जग्गा भोग गर्नेका नाममा हक हस्तान्तरणका लागि कानुनी प्रक्रिया अगाडी बढाउन मन्त्रालयलाई अनुरोध गर्ने, सिद्धिचरण राजमार्ग अन्तर्गत मिर्चैया–कटारी–घुर्मी सडकमा चालु आर्थिक बर्षका लागि विनियोजित एकअर्ब रुसपियाँको ठेक्का प्रक्रिया अहिलेसम्म नभएको भन्दै उक्त आयोजनालाई बहुवर्षिय आयोजनाका रुपमा श्रोत सुनिश्चित गर्न मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको काग्रेस सभापति कार्कीले बताउनुभयो ।
कटारी नगरपालिकाको प्रशासकीय भवन र प्राकृतिक श्रोत ब्यबस्थापन कलेजको नव निर्मित भवनहरु उद्घाटनका लागि सम्माननिय प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने, त्रियुगा नगरपालिका वडा नम्बर २ स्थित प्रस्तावित सगरमाथा विमान स्थलको रुख हटाउने कार्य सम्पन्न हुँदासमेत विमान स्थल निर्माणको सम्बन्धित मन्त्रालयसंग श्रोत सुनिश्चितताका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै जिल्लाको चौदण्डीगढी नगरपालिकाको शिवाई–बेलाहा जोड्ने पुल, बेलकाको गिदेरी खोला पुल, उदयपुर खोटाङ्ग जोड्ने सुनकोशीस्थित फोक्सिङ्गटारको पुल नहुँदा जनताले ठूलो सास्ति खेप्न बाध्यहुदै आउनुपरेकोले यी सवै कामको लागि अबिलम्ब बजेट ब्यबस्थापन गरि निर्माण कार्य सुरु गर्न सम्बन्धित मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
संयुक्त संयन्त्रको बैठकमा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य मन्जु चौधरी, कांग्रेस उदयपुर सभापति हिमाल कार्की, एमाले उदयपुर अध्यक्ष भागवत राउत, एमाले उदयपुर सचिव टेकबहादुर राउत र कांग्रेस उदयपुर सचिव राजेशचन्द्र श्रेष्ठको उपस्थिति तथा एमाले केन्द्रीय सदस्य अम्बिका थापा र जिल्ला उपसचिव गंगा राई आमन्त्रित सदस्यका रुपमा सहभागी रहनु भएको पनि उहाँले बताउनुभयो ।
वर्तमान सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको गत कात्तिक १५ मा भएको संयुक्त बैठकले सरकारका कामलाई प्रभावकारी बनाउन केन्द्रदेखि जिल्ला तहसम्म द्विदलीय संयन्त्र बनाउने निर्णय गरे अनुसारको सयो समितको बैठकले उपरोक्त निर्णयहरु गरी कार्यान्वयनका लागि सरकारसँग जोडदार रुपले माग गर्नेभनि सार्वजनिक महत्वका विषयहरुमा यस प्रकारका निर्णयहरु गरेको हो ।