भक्तिविलास पोखरेल
गाईघाट ३१ वैशाख । नेपाल नेत्रज्योती संघ मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरले दृष्टिविहीन बालबालिकालाई अध्ययनका लागि आवस्यक ब्रेल लिपिका शैक्षिक सामाग्री सहयोग गरेको छ ।
मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरका अध्यक्ष भागवत राउतले जिल्लाको चौदण्डीगढी नगरपालिका ५ मा रहेको आधारभूत विद्यालय सिवाई बेल्हाको स्रोत कक्षामा कक्षा १ देखी ९ सम्म अध्ययनरत १० जना विद्यार्थीहरुका लागि वडा कार्यालयद्वारा आयोजित एक कार्यक्रम मार्फत ती सामग्री वितरण गर्नुभएको हो ।
दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरूसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरूबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीहरूले उनीहरूको अध्ययनमा सहजता प्राप्ति होस भन्ने अभिप्रायले मदन भण्डारी आँखा अस्पताल गाईघाटले सो सामग्रीहरू प्रदान गरेको अध्यक्ष राउतले बताउनुभयो ।
नेत्रज्योती संघ मदन भण्डारी आँखा अस्पताल गाईघाटले यस अघि पनि “नेत्रहीन संघ उदयपुरलाई दृष्टिविहीनले प्रयोग गर्ने ३० थान सेतो छडी, उदयपुर जिल्ला भरका ४२ जना शारीरिक अपाङ्गता भएकालाई ह्विल चेयर, त्रियुगा नगरपालिका ७ स्थित जनज्योति माध्यमिक बिद्यालय चुहाडेमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरुका लागि सेतो छडी, कपि लगायतको सामाग्री उपलब्ध गराएको थियो भने जिल्ला भित्रका ९३२ जनाको निशुल्क मोतियाविन्दुका शल्यक्रिया समेत सम्पन्न गरेको छ ।