भक्तिविलास पोखरेल
गाईघाट, ६ माघ । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ्गले धार्मिक पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माणमा सवै पक्षको सहयोगको खाँचो रहेको बताउनुभएको छ । प्रदेश प्रमुख खापुङ्गले सो कुरा उदयपुर जिल्लाको प्रमुख धार्मीक पर्यटकीय स्थल रौता पोखरी क्षेत्रको आईतवार स्थलगत अवलोकन गर्ने क्रममा बताउनुभएको हो ।
उहाँले मुलुकको सर्वाङ्गिण विकास र समृध्दिका लागि कृषि,उद्योग र यातायातसँगै पर्यटन क्षेत्रको विकासमा पनि सवै पक्षले जोड गर्नुपर्ने बताउनुभयो । भौतिक पूर्वाधारहरुको निर्माण गरेर यस प्रकारका धार्मिक क्षेत्रमा आउने भक्तजनहरुका लागि बस्ने खाने होटल लज र आउजाउ गर्ने सडक यातायातको ब्यवस्था गर्न अति आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्रकुमार मगरले प्रदेश प्रमुख खापुङ्गलाई स्वागत सम्मान गर्दै सो क्षेत्रको विकासका लागि आवश्यक बजेटको ब्यवस्था गर्न कोशी प्रदेश सरकारसमक्ष पहलकदमी गरिदिनहुन अनुरोध गर्नुहुदै विभिन्न चारबुदे मागहरु सहितको ज्ञापन पत्र बुझाउनुभएको छ ।
प्रदेश प्रमुखका लागि रौता पोखरी परिसरमा आयोजित उक्त स्वागत कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार वस्नेतले ठूलो जनसङ्ख्या भएका दुई ठूला धनि मुलुकहरुका बीचमा अवस्थित हाम्रो जस्तो मुलुकको आर्थिक विकासको मेरुदण्ड भनेकै धार्मिक पर्यटन भएकोले यस तर्फ सवैको ध्यान जानुपर्ने बताउनुभयो ।
उहाँले आरध्यदेव पशुपतिनाथ,पाथिभरा,हलेसि महादेव थान,मुक्तिनाथ र गौतमबुध्दको जन्मभूमि लुम्बिनीजस्ता हिन्दू र बौध्द धर्मामावलम्बिहरुका आश्थाका धरोहर यहि माटोमा भएकोले धार्मिक पर्यटनमा यी क्षेत्रको मुलुकमा अति बिशिष्ठ स्थान छ भन्नुभयो । उहाँले रौता क्षेत्र उदयपुरको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र भएकोले यहाँको पूर्वाधार विकासमा अवदेखि त्रियुगा नगरपालिकाले पनि केही रकम विनियोजन गर्ने बताउनुभयो ।
जैविक विविधताले भरिपूर्ण रहेको रौता पर्यटकीय हिसाबले ठूलो सम्भावना बोकेको ठाउँ हो । जिल्लाको अरु पर्यटकिय स्थल भन्दा फरक पहिचान बोकेको रौता पोखरी सत्य युगदेखिनै अस्तित्वमा रहेकोले यो पोखरीमा सदावहार पानी रहदै आएपनि यहाँ माछा रहन नसक्नु अध्ययनको बिषयसमेत भएकोले यस तर्फ पनि अनुसन्धान हुनुपर्ने उहाँको भनाइ छ ।
रौतामाई धार्मिक बिकास संस्थाका पूर्व अध्यक्ष गिरिराज खतिवडाका अनुसार प्राचीन महत्व बोकेको रौता पोखरीको बिष्णु पुराणमा पनि बर्णन गरेको पाईन्छ । त्यसैले यो प्राचीन महत्व बोकेको पोखरी हो । धर्मग्रन्थ अनुसार त्रेतायुगमा राम र सिता बन बास गएको बेलामा रौता पोखरीमा आई पानी खाँदा सिताको रौं बाट पानी झरेपछि रामले यस पोखरीलाई रौता भनेकाले यो पोखरीको नाम रौता रहनगएको प्रमाण बिष्णु पुराणबाट पुष्टि भएको पूर्व अध्यक्ष खतिवडाले बताउनुभयो ।