मङ्सिर ८ । उदयपुरको रौतामाई गाउँपालिका ७ स्थित नमुना माध्यमिक विद्यालय मुर्कुचीमा अध्ययनरत बिपन्न विद्यार्थीलाई शैक्षिक पोसाक बितरण गरिएको छ । ‘प्रकृति प्रेमी समाज उदयपुर’ले शुक्रबार निम्न वर्गका तीन दर्जन विद्यार्थीलाई पोसाक बितरण गरेको हो ।
१२ छात्रा र २४ छात्रलाई उनीहरुको आवश्यकता अनुसार विद्यालयको पोसाक सर्ट, पाईन्ट, ट्रयाकसुट र जुत्ता बितरण गरिएको आयोजक प्रकृति प्रेमी समाजका अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताउनुभयो ।
बालबालिकालाई पोसाक वितरण गर्दै प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शसीकुमार यादवले शैक्षिक अवस्था सुधार गर्न आमनागरिकको समान दायित्व रहने भन्दै ‘बिद्यालयबाट मात्र शैक्षिक सुधार सम्भव नभएकाले, नागरिक तवरबाट हुने यस्ता कार्यक्रमले बालबालिकाको शैक्षिक गुणस्तर र अध्ययनमा रुची बढाउने छ भन्नुभयो ।
यादवले बिद्यालय भर्ना पछि पारिवारिक आर्थिक विपन्नताका कारण उनीहरुलाई टिकाई राख्न नै अहिलेको मुख्यचुनौती रहेकाले यस्ता कार्यक्रमले पुग्ने र समाजमा शिक्षाको विकासकालागि प्रेरणा तथा प्रोत्साहनले महत्वपूर्ण भूमिका निभाउने भएकोले विद्यालयमा पोशाक तथा शैक्षिक सामग्री दिएर गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई ठूलो सहयोग पुगेको छ भन्नुभयो ।
कार्यक्रममा पूर्वविद्यार्थी समाजका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले पढ्ने इच्छा हुँदा हुँदै पनि आर्थिकरुपमा पिछडिएकाहरुको बाध्यतालाई मलमपट्टी लगाउन आगामी दिनमा समेत आपूmहरु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा प्रकृतिप्रेमी समाजका अध्यक्ष श्रेष्ठले आफ्नो संस्था कुनै गैरसरकारी संस्था नभई विशुद्ध प्रकृतिसँग रमाउने युवाहरुको फोरम भएको र विभिन्न पेसा व्यवसाय गर्दा वचेको रकमलाई सामाजिक अभियानसँग जोडिने गरी बर्षेनी यस्ता कार्यक्रम गर्दै आएको बताउनुभयो ।